मधेशी समूदायको प्रमुख चाडको रुपमा रहेको छठ पर्व सुरु


 

काठमाडौ – मधेशी समूदायको प्रमुख चाडको रुपमा रहेको छठ पर्व आज(शनिबार)बाट विधिवत सुरु भएको छ । कात्तिक शुक्ल पक्षमा विशेष रुपमा सूर्यको पूजा गरी छठ मनाइने गरिन्छ । दशैं र तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राख्छ ।

केही वर्षयता नेपाली भाषाभाषी तथा कतिपय मुस्लिम समूदायका व्यक्तिहरुले पनि छठ पर्व मनाउन सुरु गरेपछि यस पर्वको आकर्षण बढ्दै गएको छ । राजधानीमा पनि छठ ले विशेष स्थान पाउन थालेको छ ।


चार दिन सम्म मनाइने यस पर्वको पहिलो दिन (चौथी)लाई नाहा खा भनिन्छ । यस दिन व्रतालु पुरुष तथा महिला खोला,नदीमा स्नान गरी शुद्ध भोजन गर्दछन् । पर्वको दोस्रो दिनलाई खर्ना भनिन्छ ।

 

उक्त दिनभरि उपवास बसेका ब्रतालुको मुख्य काम साँझ पख स्नान गरी कुलदेवता रहेको कोठामा नयाँ चुल्हो बनाइ प्रसाद तयार गरेर गोवरले भूँई लिपपोत गरी सामग्री राखेर पूजा गरिन्छ । राति भोग लगाएर प्रसाद ग्रहण गरेपछि व्रतालुले पूर्ण व्रत लिनुपर्छ । खर्नाको भोलिपल्ट पर्वको मुख्य दिन हो । यस दिन जलाशय पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुन्छ। 

 

ठेकुवा,लड्डु,कसार,पुरुकिया,खजुरी,पञ्चमेर,पञ्चफल,विभिन्न किसिमका गेडागुडी,जटा नरिवल,मूला,निम्बु,अदुवा,सुथनी,उखु लगायतका प्रसाद छठ मा चढाइन्छ ।

 

– RSS