आज छठ पर्व मिथिलाञ्चललगायत देशका विभिन्न भागमा धुमधामका साथ मनाईदै

छठ पर्वको मूख्य दिन आज मिथिलाञ्चलमा विशेष रौनककाठमाडौं  । तराईका जिल्लामा विशेष महत्वका साथ मनाइने छठ पर्व आज मिथिलाञ्चललगायत देशका विभिन्न भागमा धुमधामका साथ मनाईदै छ । चार दिने छठ पर्वको ब्रत बस्ने र सूर्यको उपासना गर्ने आज मूख्य दिन हो ।

 

आज अस्ताउँदै गरेको सूर्य र षष्टी देवीलाई अर्घ दिईन्छ भने भोलि उदाउँदै गरेको सूर्य र षष्टी देवीलाई ठेकुवा, घोसुवा, केरा र नरिवलको प्रसादसहित अर्घ अर्पण गरी छठ समापन गरिन्छ । राजधानीको रानी पोखरी र बाग्मती किनारमा छठ मनाउनेहरुका लागि विशेष व्यवस्था गरिएको छ । भक्तजनका लागि त्यहीं बस्ने व्यवस्था पनि छ ।

 

रानीपोखरीमा चार स्थानबाट ब्रतालु, भक्तालु तथा तीर्थालुको आवागमनलाई सहज गरिने व्यवस्था गरिएको छ । पशुपति गौरीघाटमा पनि श्रद्धालुहरुका लागि व्यवस्था मिलाइएको छ । कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यो पर्व मिथिलाञ्चलमा विशेष रुपले मनाइन्छ । जनकपुरका गंगासागर, धनुषसागर, रत्नसागर, गोरधोइ पोखरी, अग्रजा पोखरीमा श्रद्धालु भक्तजनको घुईंचो लागिसकेको छ ।

 

बीरगञ्जको घडीअर्वा पोखरी, नगवा पोखरी, छप्कैया पोखरी, चिपरा पोखरी, रानीघाट खोला तथा वीरगञ्ज वरिपरिका जलाशयमा श्रद्धालु भक्तजनको भीड लागिसकेको छ । मिथिलाञ्चल र मध्यपूर्वी तराईमा विशेष धुमधामसाथ मनाइने यो पर्वप्रति अरु क्षेत्र र समुदायका श्रद्धालुको पनि आकर्षण देखिन थालेको छ ।

 

यो पर्व गर्नाले सन्तान प्राप्ति, चर्म रोग निको हुने र हरेक प्रकारको दुःख क्लेशबाट मुक्त भई परिवारमा सुख शान्ति हुने जनविश्वास रहेको छ ।

 

– Agencies