नेपाल बैंक लिमिटेड खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भएका छन् । तेश्रो चरणको समाप्तिमा नेपाल च्याम्पियन फिडेमास्टर मनिष हमाल, मकवानपुरका कृष्ण थापा, गोल्डेनगेट कलेजका मदनकृष्ण कायष्ठ र रुपेश जैसवाल समान ३ अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् ।
मनिषले दोश्रो खेलमा रुकुमका मिलन रोकालाई ३५औं चालमा हराए । उनले तेश्रो खेलमा अर्का फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई निराश पारे । सिसिलियन मोरा ग्याम्बिट प्रणालीमा चौथौं चालमा एउटा सिपाही बलिदान गरी मनिषले आक्रामक शुरुवात गरे । जसले गर्दा सुजेन्द्र रक्षात्मक खेल खेल्न बाध्य भए । लगातार दवाब बढाउँदैं मनिषले १७औं चालमा उँटसित हात्ती साटेर खेलमा बलियो पकड बनाए र ३०औं चालमा जीत हासिल गरे ।
यसैगरी रुपेशले दोश्रो खेलमा ललितपुरका सोम आले र तेश्रो खेलमा ध्रुबतारा क्लब दमकका निरज निरौलामाथि सफलता प्राप्त गरे । गत महिना टर्कीमा सम्पन्न चेस ओलम्पियाडदेखि उत्कृष्ठ लयमा रहेका रुपेशले सेतो गोटी लिई क्वीन्स् ग्याम्बिट प्रणालीमा खेल शुरु गरेका थिए । निरजमाथि लगातार दवाब दिंदै उनले ४२औं चालमा एउटा सिपाही फाइदा गरे र ८४औं चालमा निरजलाई खेल त्याग्न बाध्य पारे ।
कृष्ण थापाले पनि राम्रो प्रर्दशन गरी दोश्रो खेलमा काठमाण्डौं चेस क्लबका प्रनित सिग्देल र तेश्रोमा मोरङ्गका पूर्णराज खड्कालाई हराए । त्यसैगरी मदनले अन्नपूर्ण उमाबिका हिमाल लामा र भक्तपुरका दामोदर गाईंजुलाई माथ गरे ।
नेपाल बैंक लिमिटेड केन्द्रिय प्रशिक्षण केन्द्र, कोपुन्डोल ललितपुरमा जारी प्रतियोगितामा पुर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली, नविन तण्डुकार, ललितपुरका राजन पुरी, भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, हिमालयन चेस क्लबका प्रेमकृष्ण महर्जन र चितवनका अनरेटेड सन्तोष गौतम साढे २ अंक हासिल गरी संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन् ।
पाँचदिने प्रतियोगितामा फिडेमास्टर सुजेन्द्र, मछिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठ, निरज निरौला, सुरवीर लामा, भक्तपुरका दामोदर गाईंजु र उमेश सैंजु, भेट्रान सीताराम अग्रवाल, सोम आले, कान्तिपुर चेस क्लबका आशानारायण लवट, दोलखाका गोविन्द श्रेष्ठ, चेतनशिल समाजका राजु शाक्य, पुर्णराज खड्का, हिमाल लामा, मिलन रोकाले समान २ अंक जोडेका छन् ।
भोलि बिहान ९:०० बजे चौथौं र दिउँसो १:३० बजे पाँचौं चरणका खेलहरु हुनेछन् ।