नेपाली क्रिकेट टोलीका पूर्व कप्तान गणेश शाहीको आज बिहान निधन भएको छ ।
लामो समयदेखि भारतको बहराइजमा बस्दै आएका शाहीको लखनउस्थित विवेकानन्द अस्पतालमा उपचारका क्रममा आज बिहान साँढे ५ बजे निधन भएको हो ।
सन् २००१ मा क्यानडमा भएको विश्वकप छनोट आइसीसी ट्रफी क्रिकेट प्रतियोगितामा कप्तानी गरेका शाही विगत केही समययता कलेजोको समस्याबाट पीडित थिए ।
नेपालगञ्जबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएका उनलाई कलेजो खराब भएका कारण विवेकानन्द अस्पतालमा भर्ना गरिएको थियो।
नेपालले १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमा सहभागिता जनाउँदादेखि राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका उनले पाँच वर्ष सम्म खेलेका थिए ।