धनगढी । पहिलो महिला लिग फुटबल प्रतियोगिता आजबाट कैलालीको धनगढीमा सुरु भएको छ । पहिलो दिनको खेलमा विजयी हुँदै नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपीएफले ठोस प्रदर्शन गरेका छन् । नेपाल पुलिसले मध्यपश्चिमाञ्चललाई ८-० को फराकिलो अन्तरले हरायो ।
पुलिसका लागि चन्द्रा भण्डारीले पाँच तथा निरु थापाले तीन गोल गरिन् । अर्को खेलमा सशस्त्रले सूदुरपश्चिमाञ्चललाई ३-१ ले हरायो । सशस्त्रका लागि अनु लामा, सजना राना र लक्ष्मी पौडेलले गोल गरे भने सुदूरका लागि अमृता जैसीले सान्त्वना गोल गरिन् ।
लिग अन्तर्गत भोलि पनि दुई खेल हुनेछन् । पहिलो खेलमा नेपाल आर्मी क्लवले पश्चिमाञ्चलको र दोस्रो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चलको सामना गर्नेछ ।



