काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री जित्दै डिभिजन टू मा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोली उपाधि बोकेर नेपाल आइपुगेको छ ।
बर्मुडामासम्पन्न प्रतियोगितामा अविस्मरणीय प्रदर्शन र क्रिकेटमा अहिलेसम्मकै ऐतिहासिक उपलब्धि बोकेर नेपाल ओर्लिएको टोलीलाई त्रिभुवन विमानस्थलदेखि नै भव्य स्वागत गरिएको छ ।
उनीहरुलाई विमानस्थलदेखि राष्ट्रिय खेलकूद परिषद त्रिपुरेश्वरसम्म नागरिक अभिनन्दन गरी लगिएको छ । त्यहाँ परिषदका पदाधिकारीहरुले खेलाडीहरुलाई भव्य स्वागत गर्दैछन् । बर्मुडामा सम्पन्न डिभिजन थ्री क्रिकेटमा सुरुवाती दुई खेल हारेपनि यसपछि लगातार चार खेल जितेर टोली उपाधिसहित घर फर्केको हो ।
डिभिजन टु मा पुगेसँगै नेपाली टोलीले अर्को वर्ष न्युजिल्याण्डमा हुने विश्वकप छनौट क्रिकेटमा सहभागिता जनाउन पाउने भएको छ । १० राष्ट्र सम्मिलीत उक्त प्रतियोगितामा शिर्ष दुई स्थान लिने राष्ट्रहरु सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने विश्वकप क्रिकेटको लागि छनौट हुनेछन् ।
विश्व क्रिकेटको नक्शामा नेपालको उपस्थितिलाई प्रगाढ पार्न सफल टोलीका सदस्यहरुलाई आज सरकारका तर्फबाट मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले स्वागत गर्दै छन् । दिउँसो सिंहदरवारमा हुने कार्यक्रममा सरकारका तर्फबाट उनले सम्मान गर्नेछन् ।
– रासस