दुर्घटनाको विषयलाई लिएर नवलपरासीको गूठी सूर्यपुरा गाविस वडा नम्बर ४ स्थित बेलाटारी क्षेत्र आज दिनभर तनावग्रस्त बनेको छ । गएराति भएको सडक दुर्घटनामा स्थानीय रतनपुरवाका ३० वर्षीय मनोज कोईरीको मृत्यु भएकोमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएपछि तनाव उत्पन्न भएको हो ।
झडपमा चार जना स्थानीय घाईते भएका छन् भने भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुका साथै १५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । स्थानीय वासिन्दाले एक्कासी प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
गएराति पसलबाट घर जादै गरेका कोईरीलाई गुठिसूर्यपुराको चौराहा नजिक प्रहरीको गाडीले ठक्कर दिंदा उनको मृत्यु भएको स्थानीयवासीको दाबी रहेको छ ।
उनीहरुले शव समेत उठाएका छैनन भने प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरुबीच घटनाबारे छलफल भएको जनाइएको छ ।