वेलायती राजघरानामा नयाँ सदस्यको जन्म


वेलायती राजघरानामा नयाँ सदस्यको जन्म भएको छ । युवराज्ञी केट मिडलटनले लण्डनको सेन्ट मैरी अस्पतालमा स्थानीय समय अनुसार चार बजेर २४ मिनेटमा छोरालाई जन्म दिएकी हुन् । शाही परिवारमा आएको नवजात शिशुको तौल ६ सय २८ ग्राम रहेको बताइएको छ । आमा र बच्चा दुबैलाई रातभर अस्पतालमै राखिनेछ ।


शाही परिवारलाई नाती प्राप्त भएकामा प्रधानमन्त्री डेविड कैमरुनले बधाई दिँदै यस अवसरमा पूरै देशले खुशी मनाउने प्रतिक्रिया दिएका छन् । प्रिन्स विलियमले छोरा तथा राजघरानाले नयाँ उत्तराधिकारी पाएकामा लण्डनमा खुशीको माहौल बनेको छ ।


परिवारमा नयाँ सदस्यका रुपमा नातीको प्रवेश भएकामा महारानी एलिजावेथसहित सबैमा खुशी छाएको खबरमा उल्लेख छ । विपक्षी लेबर पार्टीका नेता एड मिलिबैंडले पनि ड्यूक र डचेच अफ कैम्ब्रिजलाई बच्चा प्राप्ति भएको खुशीयालीमा बधाई दिँदै नवजात शिशुको राम्रो स्वास्थ्यको कामना गर्छु भनेका छन् ।


चिकित्सकहरुले भने शाही परिवारलाई प्राप्त बच्चालाई अद्भूत र सुन्दर बच्चाको संज्ञा दिएको खबरमा उल्लेख छ । क्यानडाका प्रधानमन्त्री स्टीफेन हार्परले पनि वेलायती राजपरिवारलाई नयाँ सन्तान प्राप्ति भएकामा बधाई दिएका छन् ।