भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं  – भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा पुरानै प्रतिद्वन्द्वी माल्दिभ्सलाई १-० ले हराउँदै भारत फाइनल प्रवेश गरेको हो । भारतका लागि ८५ औं मिनेटमा अरनाब मण्डलले निर्णायक गोल गरे ।
माल्दिभ्सका फरवार्ड अली असफाकलाई घाइते तुल्याएको भारतले रोमाञ्चक नतिजा निकालेको हो । असफाक घाइते हुँदा रेफ्रीले पेनाल्टी नदिएको भन्दै माल्दिभ्स आक्रोसित भयो । खेल सकिएपछि माल्दिभ्सले हातपातको प्रयास गरेपछि सुरक्षाकर्मी मैदान प्रवेश गरेका थिए ।
समूह चरणमा दुईवटा पहेँलो कार्ड पाएका भारतीय कप्तान सुनिल क्षेत्री सेमिफाइनमा मैदानमा थिएनन् ।
सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा पनि यी दुईबीच भेट भएको थियो । अघिल्लो संस्करणमा भारतले माल्दिभ्सलाई ३-१ ले हराएको थियो । त्यो बदला लिने माल्दिभ्सको रणनीति सफल हुन सकेन ।
साफ च्याम्पियनसिपमा भारत ६ पटक विजेता भइसकेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग आत्मघाती गोलले विजयी भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।
‘हड टू हेड’का आधारमा पाकिस्तानलाई पछि पार्दै समूह ‘ए’को उपविजेता बनेको भारत अन्तिम खेलमा नेपालसँग २-१ ले पराजित भएको थियो ।
माल्दिभ्सले भने समूह चरणमा श्रीलंकालाई १०-० र भूटानलाई ८-२ ले हराएको थियो । अन्तिम खेलमा पाकिस्तानसँग गोलरहीत बराबरी खेलेको थियो । आठौं साफमामात्रै माल्दिभ्सले १८ गोल गरिसकेको छ ।
भारतले बुधबार हुने फाइनलमा अफगानिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
EKANTIPUR