परम्परागत रुपमा विशेष महत्व बोकेको ईन्द्रजात्रा पर्व राजधानीमा सुरु

काठमाडौं। परम्परागत रुपमा विशेष महत्व बोकेको ईन्द्रजात्रा पर्व आजदेखि राजधानीमा सुरु भएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारमा भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङ्गो ठड्याइएपछि जात्रा सुरु भएको हो । ईन्द्र जात्रा काठमाडौ उपत्यकाको निकै पुरानो सांस्कृतिक जात्रा हो । भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङगो केन्द्रीय मानन्धर संघको नेतृत्वमा समुदायका ब्यक्तिहरुले ठड्याएपछि जात्राको रौनक बढ्ने गर्दछ ।



 लिङ्गो ठड्याइएपछि सत्यको जीतको प्रतीकस्वरुप इन्द्रध्वज पनि फहराउने चलन छ । लिंगो ठड्याउनु अघि किलागलका ज्यापु समुदायले परम्परागत विशेष तान्त्रिक देवी नाच प्रस्तुत गर्छन । भरतमुनिको नाट्यशास्त्रमा पनि इन्द्रध्वज उत्थानको चर्चा गरिएको पाइन्छ । ईन्द्रजात्राको क्रममा जिवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा पनि गरिंन्छ ।



इन्द्र जात्राको पहिलो दिन उपत्यकाका नेवार समुदायले काँचो माटोको दियोमा बत्ति बालेर उपाकु पर्व मनाउने गर्छन् । महायानी बौद्ध धर्मावलम्बीहरुले मृत्यु भएका आफन्तजको आत्माको चीर शान्तिका लागि चोक चोकमा दियो बालेर नगरको बाहिरी सिमाको परिक्रमा गर्ने गर्दछन् ।



परिक्रमा चैत्य आकारमा गर्ने गरिन्छ र यसरी परिक्रमा गर्नाले दिवंगत आत्माले मोक्ष प्राप्त गर्छन भन्ने विश्वास छ । परिक्रमाका क्रममा विभिन्न मठ मन्दिरका अगाडि नेवारी परिकार समयबजी राख्ने चलन पनि छ । ईन्द्रजात्राको पहिलो दिन लिङ्गो ठहड्याएपछि उपत्यकामा पर्व र जात्राको क्रम सुरु भएको मानिन्छ ।

 

RSS, IMAGECHANNEL