काठमाडौं – आज बडा दसैंको पहिलो दिन दुर्गा भवानीको प्रतीकका रूपमा घर-घरमा घटस्थापना गरिँदै छ ।
नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापना गर्ने शुभसाइत शनिबार बिहान ९:५१ मा रहेको जनाएको छ ।
दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, दुमरी र पाखीको पात) राखेर जौ र मकै छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीहरूले भने पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो भगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पंगमाटोमा जौ र मकै छरेर जमरा राखी घटस्थापना गर्छन् ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै एक/एक तीर्थमा स्नानका साथै एक/एक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ । विजयादशमीको दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन् । नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि भनेको बताइन्छ ।
यस बर्षको असोज २८ गते विजया दशमी परेको छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ ।
समितिका अनुसार दसैंको टीकाको साइत असोज २८ गते सोमबार बिहान ९:५७ मा छ । RSS