इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको म्यान्चेस्टर युनाईटेडले गएराती सन्डरल्याण्डलाई उसैको मैदानमा २-१ ले हरायो । खेलमा म्यान्चेस्टरलाई विजयी गराउन टिनएज खेलाडी अद्नान जानुजाजले दुई गोल गरे ।
लिग अन्तर्गत गएरातीका अन्य खेलहरुमा म्यानचेष्टर सिटी, लिभरपुल, न्यूकासल युनाइटेड र फुल्हम विजयी भएका छन् । आफ्नै मैदानमा खेलेको म्यानचेष्टर सिटीले एभर्टनलाई ३-१ ले हराएको छ । म्यानसिटीका लागि सर्जियो अग्वेरो र अल्भारो नेग्रेडोले १-१ गोल गरे । अग्वेरोकै पेनाल्टी प्रहारमा एभर्टनका गोरकिपर टिम होवार्डले आत्माघाती गोल गरेका थिए ।
त्यसैगरी लिभरपुलले आफ्नै मैदानमा क्रिष्टल प्यालेसलाई ३-१ ले हरायो । लिभरपुलका लागि लुइस सुवारेज, डानियल स्टुरिज र स्टेभेन जेरार्डले एक एक गोल गरे । त्यसैगरी न्यूकासल युनाइटेडले कार्डिफ सिटीलाई उसकै मैदानमा २-१ ले तथा फुल्हमले आफ्नै मैदानमा स्टोक सिटीलाई १-० ले हरायो । हल सिटीले भने आफ्नै मैदानमा एस्टन भिल्लासंग गोलरहित बराबरी खेलेको छ ।
यी खेलसंगै लिभरपुल १६ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको आर्सनल १५ अंकको साथ दोस्रो स्थानमा झरेको छ । त्यसैगरी १३ अंकबाट म्यानचेष्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।
AGENCIES,IMAGECHANNEL