मुस्लिम धर्मावलम्बी बकर इद देशभर मनाउँदै

मुस्लिम धर्मावलम्बीको इद उलफित्रपछिको चाड बकर इद देशभरका नेपाली मुसलमान समुदायले बुधबारदेखि धुमधामसाथ मनाउन थालेका छन् । यो पर्व मुस्लिम समुदायले तीन दिनसम्म कुरबानी दिएर मनाउने चलन छ । सरकारले मुस्लिम धर्मावलम्बीको यो पर्वमा बुधबार सार्वजनिक बिदा दिएको छ ।
नेपाली मुस्लिम धर्मावलम्बीले बिहानै नुहाएर मस्जिद वा इदगाहमा गएर नमाज पढी घर फर्किसकेपछि अल्लाहका नाममा चौपाया खसी, भैंसी एवं बाँझो पाठीलाई  बली चढाउँछन्, जसलाई कुरबानी भनिन्छ । कुरबानी आफ्ना नामको अतिरिक्त परिवारका मृत सदस्यको नाममा पनि चढाइन्छ । नमाज पढिसकेपछि मुस्लिम धर्मावलम्बीहरूले आपसमा गला मिलाएर शुभकामना आदानप्रदान गर्छन् ।
मुस्लिम समुदायका सम्पन्नदेखि विपन्न वर्गसम्मले यस पर्वमा मीठो पकवान्न (बिरियानी, पुलाउ, कर्मा र कोक्ता) र कबाब (मासुको परिकार), भोज (दावत) खान/खुवाउनमा व्यस्त हुन्छन् । मुस्लिम परम्पराअनुसार बुधबार बिहान उपवास बसी नमाज पढेर प्रार्थना गरेपछि खसी, राँगालगायतको कुर्बानी (बली) दिए । कुरबानीको मासु मुस्लिम धर्मावलम्बीले परम्पराअनुसार तीन दिनसम्म तीन भाग लगाएर एक भाग आफू खान्छन् भने एक भाग आफन्त वा इष्टमित्र र एक भाग गरिबलाई खुवाउँछन् ।
नयाँ र सफा लुगामा सजिएका उनीहरूले छरछिमेक र इष्टमित्रलाई आलोपालो दावत (भोज) दिन्छन् । मुस्लिम धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहले नवि इव्राहिम अलि सलामलाई ‘तिमीलाई मन परेको वस्तु कुरबानी देऊ’ भनेपछि उनले ८० वर्षको उमेरमा आफ्नी पत्नी हाजराका गर्भबाट जन्मिएको सबभन्दा प्यारो छोरा इस्माइल अलि सलामलाई कुरबानी दिन गएका थिए।
 तर अल्लाहले नवि इव्राहिम अलि सलामको यो कामबाट निकै प्रसन्न भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माइलको ठाउँमा दुम्बा -भेडा) कुरबानी गरिएको थियो । यही घटनाको स्मृतिमा बकर इद मनाउन थालिएको हो ।
Source:Ekantipur