स्पेनिश फुटबल क्लव रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

वैशाख १७ । स्पेनिश फुटबल क्लव रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सन् २००२ पछि पहिलो पटक फाइनलमा प्रवेश गर्ने क्रममा रियालले जर्मन क्लव बायर्न म्यूनिखमाथि शानदार जित हासिल गर्‍यो ।
१२ वर्षपछि खोलो पनि फर्किन्छ भनेझैं उत्कृष्ट पुनरागमन गर्ने क्रममा रियालले सेमिफाइनलमा बायर्नमाथि समग्रमा ५/० को स्पष्ट जित हािसल गरेको हो । पहिलो लेगमा घरेलु मैदानमा १/० को जित आत्मसात् गरेको रियालले गएराति बार्यनकै मैदानमा भएको खेलमा भने उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४/० को विजयी नतिजा निकालेको थियो ।
रियाललाई जिताउन क्रिष्टियानो रोनाल्डो र सर्जियो रामोसले दुई दुई गोल गरे । गोलसंगै रोनाल्डोले एकै सिजनमा च्याम्पियन्स लिगमा कीर्तिमानी १६ गोल पु-याएका छन् । यसअघि एकै सिजनमा १४ गोलको कीर्तिमान लियोनल मेसी, रुडभान निस्टलरोय र होजे अल्ताफिनीको नाममा थियो ।
अब उपाधिका लागि रियाल मड्रिडले इङ्गलिश क्लव चेल्सी र स्पेनिश क्लव एथ्लेटिको मड्रिड बीचको विजेतासंग खेल्नेछ । चेल्सी र एथ्लेटिकोबीचको खेल आज हुँदैछ ।
AGENCIES