युरोपियन च्याम्पियन्स लिगको उपाधी रियल मड्रिडलाई

युरोपियन च्याम्पियन्स लिगको उपाधी रियल मड्रिडले हात पारेको छ। शनिबार राति भएको फाइनलमा अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिडले १०औं पटक च्याम्पियन्न बनेको हो।
पोर्चुगलको राजधानी लेस्बनमा भएको खेलमा रियलले ४-१ गोल अन्तरले एथ्लेटिकलाई हरायो। एथ्लेटिको मड्रिडले खेलको ३६ औं मिनेटमा डिएगो गोडिनको गोलबाट अग्रता लिएको थियो। रियल मड्रिडका गोलरक्षक कासिलोसको गल्तीको फाइदा उठाउँदै गोडिनले गरेको गोल अन्तिम मिनेटसम्म जोगाउन नसक्दा एथ्लेटिकोले उपाधी गुमाउनुपर्‍यो।
सर्जिओ रामोसले रियल मड्रिडका लागि खेलको ९० औं मिनेटमा बराबरी गोल फर्काए। जसले गर्दा निर्धारित समयको खेल १-१ को बराबरीमा सकियो। ९० ‌औं मिनेटको गोल नै एथ्लेटिकोका लागि महगो सावित हुँदै खेल अतिरिक्त समयमा धकेलियो।
३० मिनेटको अतिरिक्त समयको खेलमा रियल हाबी हुँदै लगातार तीन गोल गर्दा एथ्लेटिको निरिह देखियो। खेलको ११० औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यस्तै, ११८ औं मिनेटमा मार्सेलो र अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै उपाधी पक्का गरेका हुन्। AGENCIES