नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेको सम्झौता एक वर्षका लागि म्याद थप्न पहल सुरु

सरकारले नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेको सम्झौता एक वर्षका लागि नवीकरण गर्न प्रक्रिया सुरु गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले आर्थिक कारण देखाउँदै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको भोली पल्टै युवा तथा खेलकुद मन्त्रालयले प्रशिक्षकको म्याद थप्न आवश्यक प्रकृया सुरु गरेको मन्त्रालयका प्रवक्ता चुडामणी पौडेलले जानकारी दिनुभयो ।
प्रशिक्षकका लागि क्यानले पैसाको जोहो गर्न नसके सरकारले रकम उपलब्ध गराएरै भएपनि प्रशिक्षकको म्याद थप्न खेलकुद मन्त्री पुरुषोत्तम पौडलेले अब बस्ने मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने उहाँले बताउनुभयो ।
खेलकुद मन्त्रालयले क्रिकेट प्रशिक्षकलाई रकम उपलब्ध गराउनका लागि अर्थ मन्त्रालयसँग स्वीकृति लिनु पर्ने र त्यो प्रक्रिया पनि सुरु भएको उहाँले बताउनुभयो । 
अर्थमन्त्री रामशरण महतले पुवुदुलाई गुमाउन नहुने भन्दै क्यानसँग रकम अभाव भएको भए सरकारले सहयोग गर्ने घोषणा यसअघि नै गरिसक्नु भएको छ । दसानायकेको सम्झौता सोमबार सकिएको थियो ।