वसन्त ऋतुको आगमनको उल्लाससँगै रङहरुको चाड फागुपूर्णिमा होली भव्यताका साथ मनाइँदै

प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराइ भेगमा भोलि भव्यताका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउँछन् ।
नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी गराए ।
होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलि आएको हो ।