पश्चिमाञ्चल होटल संघको आयोजना पोखरामा आयोजना भएको पर्यटक दौड प्रतियोगितामा बेलायतका ड्यान विलियम्स प्रथम भएका छन्। प्रतियोगितामा फ्रान्सका लुकास दोश्रो र बेल्जियमका फ्लोरियन तेश्रो भए। सान्त्वना स्थान भने अमेरिकाका मार्कोले हासिल गरे।
पोखरामा जारी १२ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत लेकसाइडको हल्लनचोकबाट सुरु भएको दौडमा महिला तर्फको छुट्टै मुल्यांकनमा भने अष्ट्रेलियाकी इमा प्रथम भइन्। डेनमार्ककी ग्राईले दोश्रो स्थान हासिल गरिन् भने डेनमार्ककै अन्ना तेश्रो भइन्। सान्त्वना स्थान भने बेल्जियमकी लिसाले हासिल गरिन्। प्रतियोगितामा कूल एक सय ६७ पर्यटकले भाग लिएको दौडका संयोजक ज्याक तामाङले जानकारी दिए।
प्रथम भएका महिला पुरुषलाई पोखराबाट काठमाडौं सम्मको उडान टिकट, मायाको चिनो र विजी वी क्याफेमा ककटेल डिनरको व्यवस्था गरिएको छ। दोश्रो हुनेलाई ३० मिनेटको प्याराग्लाइडिङ उडान, मायाको चिनो र विजी वी क्याफेमा नै ककटेल डिनर प्रदान गरिएको छ। यसैगरी तेश्रो हुनेलाई पोखराबाट काठमाडौं सम्म डिलक्स बसको टिकट, टोकन अफ लभ र सोही क्याफेमा ककटेल डिनर प्रदान गरेको छ।
सहभागीहरु हल्लनचोकको पिस प्लाजा होटल नजिकबाट दौडेर बाराही चोक हुँदै फिस्टेल गेटसम्म तीन किलोमिटर दौडेका थिए। पोखराको पर्यटन प्रवर्द्धन गर्न र नेपाली संस्कृति तथा फेवा तालको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए।
बसुन्धरा पार्कमा जारी महोत्सव अन्तर्गत सोमबार भजन चुड्का प्रतियोगिता, लोक दोहोरीका कार्यक्रम, आमा समूह विच खुल्ला नृत्य प्रतियोगिता समावेश गरिएको महोत्सवका संयोजक लक्ष्मण सुबेदीले जानकारी दिए। खानाका स्टलमा पनि दर्शक झुम्मिएका छन्। विजी वी क्याफेको पिज्जा युवाहरुले बढी मन पराएका छन्। होटलका तथा अन्य व्यापारिक स्टलहरुमा पनि मानिसको भीड छ। सेतोपाटीमा समाचार छ ।