आज बडा दसैंको पहिलो दिन दुर्गा भवानीको प्रतीकका रूपमा घर-घरमा घटस्थापना गरिँदै छ ।
घटस्थापनाको साइत आज असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, दुमरी र पाखीको पात) राखेर जौ र मकै छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीहरूले भने पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो भगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पंगमाटोमा जौ र मकै छरेर जमरा राखी घटस्थापना गर्छन् ।
समितिका अनुसार दसैको टीकाको लागि कार्तिक ५ गते विहान १०:५५ को साइत उत्तम छ ।
यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताए ।
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ, अध्यक्ष गौतमले भने ।
कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले प्रष्ट पारे । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उनले जानकारी दिए ।
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।
दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।
चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ । रासस