भूकम्पले घर भत्केपछि बारीको पाटामा अस्थायी टहरोमा बस्दै आएका गोरखाका भूकम्पपीडितलाई डेङ्गु रोगको लक्ष्यण देखा परेको छ।
टहरोमा सङ्कटपूर्ण तबरले गुजारा चलाउँदै आएका भूकम्पपीडितमा डेङ्गु रोग लाग्दा देखिने केही लक्ष्यण देखिएपछि जिल्ला अस्पताल गोरखाले थप उपचारका लागि चितवनस्थित अस्पतालमा पठाएको छ ।
देउराली गाविसकी एक महिलामा डेङ्गु रोग देखिएको पुष्टि भए पनि अन्य बिरामीको प्रतिवेदन आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ। चितवन बसेर हालै गोरखा आएकी महिलामा डेङ्गु रोग देखिएको हो। बिरामीको नाम गोप्य राखिएको छ।
त्यस्तै सोही गाविसका अर्का एक पुरुषमा पनि डेङ्गु रोगको लक्षण देखिएपछि चितवनस्थित अस्पतालमा भर्ना गरिएको छ। चितवन बसेर फर्केकी एक जनालाई डेङ्गु देखिएको हो जिल्ला अस्पताल स्रोतले भन्यो, उनको उपचार भइरहेको छ। लक्षण देखिएका अन्यको प्रतिवेदन आइसकेको छैन। लामखुट्टेले टोकेपछि डेङ्गु रोग एक अर्कामा सर्छ।
बिरामीलाई उच्च ज्वरो आउने, मांसपेशी तथा हाडजोर्नी दुख्ने, रिङ्गाटा लाग्नेजस्ता लक्षण देखिएको बिरामीका आफन्तजनले बताएका छन्।
गत वर्ष पनि गोरखाका एक जनामा देखिएको डेङ्गु रोग उपचारपछि निको भएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले नेपालका गर्मी ठाउँमा डेङ्गु रोग देखिए पनि पहाडमा कम मात्रामा देखिएको बताए। रासस