आज विजयादशमी (टीका)को दोस्रो दिन । आफन्त र मान्यजनका हातबाट आज पनि टीका थाप्ने क्रम जारी छ । दशमीका दिनदेखि पूर्णिमासम्म मान्यजनका हातबाट दसैंको टीका र आशीर्वाद थाप्ने परम्परा रहेको छ ।
भारतले गरेको नकाबन्दी र मधेसमा जारी आन्दोलनका कारण मुलुकभर दसैं कष्टकर बनेको सर्वसाधारणले गुनासो गरेका छन् । राजधानीमै पनि पेट्रोलियम पदार्थको अभावका कारण सर्वसाधारणले आफन्तको हातबाट टीका लगाउन जान नपाएको गुनासो गरेका छन् ।
काठमाडौं मीनभवनका स्थायी वासिन्द दीपक थपाले यसपालिको टीका घरमै आमा र बुबाको हातबाट मात्रै थाप्ने निधो गरेका छन् । टीकाको दिन सुन्दरीजलमा रहनुभएका काका – काकीको हातको टीका थाप्न जाने उनको प्रयास असफल भएको छ । न काका – काकी मीनभवन आउन सके न त म सुन्दरीजल जान सके । चार घण्टासम्म गाडि पर्खिएर नपाए पछि घर फर्किएको उनले बताए । यस्तै सीनामंगलका राजेन्द्र श्रेष्ठको पनि यसपालीको दसैं खल्लो भएको बताएका छन् । बनेपामा रहेका आफन्तका हातको टीका यसपाली असम्भव भएको उनले बताए । आफुसंग भएको गाडि र मोटरसाइकल घरमा थन्किएको छ । सार्वजनिक गाडि पनि चल्न छोडेका छन । चलेका गाडिमा पनि यात्रा गर्नु जोखिम मोल्नु हो , राजेन्द्रले भने ।
काठमाडौं नैकापकी रमिला तामाङलाई पनि यसवर्षको दसैं निकै खल्लो लागेको छ । “घरमा टीका लगाएर त्रिसुली जानु त कता हो कता बानेशवरसम्म पनि जान नसकिने अवस्था रहेको उनले बताईन ।
नाकाबन्दीका कारण उपभोग्यवस्तुको अभाव र चर्को मूल्य झेल्दै आएका उपभोक्ताले अन्य समयमा भन्दा दसैंमा ठूलोमात्रामा उपभोग्यवस्तु खपत गर्ने गर्छन । राजधानीका कतिपय वासिन्दाले ग्यासको अभावमा दाउरामा खाना पकाउन थालेको बताएका छन । इमेजखबरमा समाचार छ ।