झापाको कनकाई नदीको किनारमा लाग्ने माइमेला सुरु

झापाको कनकाई नदीको किनारमा लाग्ने माइमेला आजदेखि सुरु भएको छ। 
 
अढाई लाख धार्मिक तीर्थालु भित्रने अनुमान गरिएको पूर्वकै ठूलो यस मेलाको सुरक्षार्थ ३०० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
 
कनकाई नदीको दुवै किनारमा आजदेखि माघ २ गतेसम्म सो धार्मिक मेला लाग्नेछ। 
 
 असङ्ख्य तीर्थयात्री आउने मेलामा कुनै अप्रिय गतिविधि हुन नपाओस् भनेर सुरक्षा तैनाथी बढाउन लागिएको हो सुरुङ्गा इलाका प्रहरी चौकीका प्रमुख नवीनकुमार घिमिरेले भने। 
 
कनकाईको पूर्वी तटमा हुने मेलाको सुरक्षाको बन्दोवस्त विर्तामोड इलाका प्रहरी कार्यालयले र पश्चिम तटमा हुने मेलाको सुरक्षाको वन्दोवस्त झिलझिले इप्रकाले मिलाएको छ। 
 
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीम दाहालले यसपाली मेलालाई पूर्ण सुरक्षित बनाउन विशेष सुरक्षा परिचालन गरिएको बताए। 
 
सुरक्षा योजनाबमोजिम पूर्वपश्चिम राजमार्गमा ठूलो सङ्ख्यामा ट्राफिक प्रहरी खटाएर राजमार्ग सुचारु गराइने भएको छ।  राजमार्ग कुनै हालतमा अवरुद्ध हुन दिने छैनौँ दाहालले भने। 
 
प्रहरीले राजमार्ग, मन्दिर, मेलास्थल, पुल र सुरुङ्गा बजारलाई विशेष फोकस गर्दै सुरक्षाकर्मीको युनिट खटाउने भएको छ जसमा मन्दिरमा महिला भक्तजनको सुरक्षाका लागि कम्तीमा १५ जनाको महिला प्रहरी टोली खटिने भएको छ। 
 
मेलामा जुवातास खेल्न र मदिराको बेचविखन गर्न नदिने विषयमा मेला आयोजक समिति, स्थानीय राजनीतिक दल, धार्मिक संस्था, नगरपालिका र सुरक्षा निकायबीच सहमति भइसकेको छ। यसलाई कार्यान्वयन गर्न प्रहरीले विशेष भूमिका निर्वाह गर्ने भएको छ। रासस