टी-२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । वनडे र टी-२० विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलार्इ हराउन सकेको छैन । यो टी-२० विश्वकपमा पाँचौ र विश्वकपमा ११ औं हार हो ।
वर्षाका कारण २ ओभर घटाइएको खेलमा पाकिस्तानले भारतसामू ११९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई घरेलु टोलीले विराट कोहलीको अर्धशतकको मदतमा मात्र १५.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
भारतको सुरुवात राम्रो थिएन । २३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, विराट कोहलीले युवराज सिंहसँग मिलेर पारी सम्हाले । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । युवराज २३ रन बनाएर आउट भए ।
कोहली ५५ रनमा अविजित रहे । ३७ बलको सामना गरेका उनले सात चौका र एक छक्का हाने । कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा एक छक्कासहित १३ रन बनाए ।
कोलकत्तामा भएको खेलमा भारतले टस जितेर पाकिस्तानलार्इ ब्याटिङको निम्तो दियो । पाकिस्ताानले १८ ओभरमा ५ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
पाकिस्तानका ओपनर शरजील खान र अहमद शहजादले सम्हालिएर खेल्न सुरु गरे । कोलकत्ताको पिचले स्पिन लिन थाल्यो र ब्याट्सम्यानहरुलाई रन बनाउन मुस्किल भयो ।सबैभन्दा पहिला शरजील आउट भए । १७ रनको निजी स्कोरमा सुरेश रैनाको बलमा हार्दिक पाण्डेय उनको उत्कृष्ट क्याच लिए ।शहजाद २५ रन बनाए उनी बुमराहको बलमा आउट भए । कप्तान शाहिद अफि्रदी मात्र ८ रनमा आउट भए ।शोएब मलिकले सर्वाधिक २६ रन बनाए भने उमर अकमलले २२ रनको पारी खेले ।