भद्रगोलका सितेबाले धुर्मुस सुन्तलीलाई ५० हजार १ रुपैयाँ दान दिए

नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृंखला भद्रगोलका सितेबा (मधुसुधन पाठक) ले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
रिजु पौडेलसँग बैबाहिक सम्बन्धमा गाँसिएको एक वर्ष पुरा भएको अवसरमा पाठकले धुर्मुस सुन्तली फाउण्डेशनलाई ५० हजार १ रुपैयाँ सहयोग गरेका हुन् । गिरान्चौर एकीकृत बस्ती निर्माणमा आर्थिक सहयोग गर्ने सितेबा पहिलो कलाकार भएका छन् । अन्य कलाकारबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । 
गिरान्चौर बस्ती निर्माण कलाकारको साझा अभियान भएकाले सकेको सहयोग गरेको पाठकले बताएका छन् । भूकम्प पिडितका लागि सानो सहयोग पनि महत्वपूर्ण हुने भएकाले सहयोगी हात अघि बढाएको उनको भनाई छ । 
आर्थिक मात्र नभई श्रमदानका लागिसमेत आफू र आफू आवद्ध रहेको जेष्ट बचत तथा ऋण सहकारीसँग समेत तयार रहेको प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।