म यस्तो देश बनाउँथे जुन सिंगापुर हुन्थ्यो
सबै नेपाली जनताले मेरो शालिक बनाउँथे…
गाईजात्राको अवसर पारेर तयार पारिएको गीत तथा प्रहसनको एल्बम हन्तकाली मा समावेश गरिएको एउटा प्यारोडी गीत हो यो । चलचित्र प्रेमगीत को शीर्षक गीतमा आधारित यो प्यारोडीमा मणिराज काफ्लेको स्वर तथा दमन रुपाखेती र काफ्लेको शब्द छ । यो गीतको भिडियोमा भने कविता शर्मा तथा पारवन राईले अभिनय गरेका छन् ।
गाईजात्राको पूर्वसन्ध्यामा बजारमा आएको यो एल्बममा तीनवटा प्यारोडी गीत, दुईवटा प्रहसन तथा दुईवटा व्यंग्य समावेश छ । एल्बमका प्रहसन तथा प्यारोडीमा दमन रुपाखेती, शिव शर्मा, कविता शर्मा, राजकुमार कुँवर, राजु भुजु, आरके मानन्धर, सुशीला थापा, पारवन राई, कञ्चन सापकोटा, प्रकाश न्यौपाने आदि कलाकारले अभिनय गरेका छन् ।
यो एल्बममा समावेश कुर्सी देउन… (पप्पी देउ न गीतमा आधारित) प्यारोडी गीतमा भने मणिराज काफ्ले, राजन चौलागाईं तथा दमन रुपाखेतीको स्वर सुन्न सकिन्छ ।
प्रमुख दलका नेताहरू बैठक कक्षबाट बाहिरिएपछिको प्रसंगमा आधारित प्रहसन हन्तकाली बैठक तथा विदेशको मोह शीर्षकका प्रहसनमार्फत दर्शकले प्रसस्त मनोरञ्जन लिनसक्ने यो गाईजात्रे एल्बमका निर्देशक रुपाखेतीको तर्क छ ।
यो वर्षको गाईजात्रालाई लक्षित गर्दै म्युजिक नेपालले जेरी वाचन गाईजात्रा शीर्षकको हास्यव्यंग्य एल्बम तयार पारेको छ । नेपाली कमेडी भिडियो गीतका रूपमा तयार पारिएको जेरी वाचनमा कलाकार बबिता बानियाँ जेरी ले रमाइलो प्रस्तुति दिएकी छिन् ।
बबिता, गुलेली, कान्छा, मनीष, सञ्जीव, इसशान, सुष्मिता, सञ्जु, महेन्द्र, गोपाल आदि कलाकारद्वारा अभिनित यो भिडियोकी गायिका तथा वाचक बबिता बानियाँ नै हुन् भने शब्द पनि उनैले तयार पारेकी हुन् । शेरबहादुर डिसी यो व्यंग्य भिडियोका निर्देशक हुन् ।
चाइनाबाट तेल शीर्षकको व्यंग्यात्मक गीतले गाईजात्राका साथै तीजलाई पनि लक्षित गरेको छ । धनकुमारी थापा, दीपा राई तथा मनोज सिंह धामीले गाएको यो गीतको भिडियोमा दमन तथा धनकुमारी थापाले अभिनय गरेका छन् । यो भिडियोको निर्देशन पनि उनीहरू दुवैले गरेका हुन् ।
कलाकार कमल गाउँलेले गाईजात्राको अवसर पारेर राजनीतिक पराकम्पन शीर्षकको एल्बम तयार पारेका छन् । युट्युबमा समेत उपलब्ध करिब २४ मिनेट लामो यो हास्यव्यंग्यात्मक सामग्रीमा कमल गाउँलेको लेखन, गायन, संगीत, शब्द तथा निर्देशन छ ।
गीत, प्रसहन तथा प्यारोडीको यो संगालोमा कमल गाउँले, मिलन भण्डारी, लक्ष्मी बोहरा, कर्णप्रिय, शेरबहादुर गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।
कलाकार सुजित थापाले गाईजात्रालाई नै लक्षित गर्दै हाक्का हाक्की गाईजात्रा २०७३ शीर्षकको एल्बम तयार पारेका छन् । ओलीको सत्ता छाडेपछि पहिलो अन्तर्वार्ता उपशीर्षक राखिएको यो भिडियो एल्बममा सुजित थापा, जय भोले तथा शिव शर्माले अभिनय गरेका छन् । सुजित थापा यो भिडियोका निर्देशक हुन् ।
गोरु फार्म शीर्षकको प्रहसन भिडियो पनि गाईजात्राको अवसर पारेर सार्वजनिक भएको छ जसमा विभिन्न हास्य कलाकारले अभिनय गरेका छन् । महेश पाण्डे तथा रामु आचार्यले तयार पारेको अर्पण अभियान: गाईजात्रा२०७३ शीर्षकको भिडियोमा ऋषि धमलाले पुष्पकमल दाहालको अन्तर्वार्ता लिएको प्रसंग चित्रण गरिएको छ ।
कान्तिपुर साप्ताहिकबाट