अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएका आर्थिक अनियमितताका सम्बन्धमा छानबिन प्रक्रिया अघि बढाउने जानकारी गराएको छ। एक घन्टा मात्र समय राखेर डाकिएको आकस्मिक पत्रकार सम्मेलनमा अख्तियारले यो जानकारी दिएको हो। उक्त प्रकरणमा नाम परेका नेताहरुलाई ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको पनि अख्तियारले जनाएको छ। ती नेताको नाम भने अख्तियारले सार्वजनिक गरेको छैन। कान्तिपुरमा समाचार छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाटकीय रुपमा माओवादीको तत्कालीन लडाकु शिविरमा भएको अनियमितताको छानविनलाई तिव्रता दिने घोषणा गरेको छ ।
शुक्रवार अपरान्ह आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर अख्तियारले लडाकु शिविरका कमान्डर र माओवादीका तत्कालिन जिम्मेवार नेताहरूलाई ३० दिनभित्र आफ्नो भनाई राख्न सूचना जारी बोलाइएको जनाएको छ । सर्वोच्च अदालतले लोकमानसिंह कार्की नियुक्तिको फैसला पुनरावलोकन गर्ने आदेश दिएकै दिन अख्तियारले माओवादी केन्द्रका नेता जोडिएका ठूला मुद्दामा छानबिन सुरु गरेको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता गणेशराज कार्कीले लडाकु शिविर र भत्तामा भएको अनियमितताको छानविन तीब्र पारिएको बताए । ‘तत्कालिन नेकपा माओवादी शिविरमा भएको भरणपोषण र रकम निकासाको वारेमा छानविन गरेका छौं,’ कार्कीले भने, ‘त्यतिबेला निर्णय प्रक्रियामा सहभागी पदाधिकारीहरूलाई अनुसन्धानका लागि आमन्त्रण गरेका छौं । दोषी देखिए कारवाही हुन्छ ।’ तर आयोगले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
कार्कीले लडाकुको संख्या र निकासा भएको रकमबीचमा तालमेल नदेखिएको बताए । ‘यो गम्भिर प्रकृतिको हो भन्ने देखिन्छ’ उनले भने, ‘रकमको परिमाण पनि ठूलो हुनेछ ।’ उनले त्यसको मात्रा पनि खुलाउन चाहेनन् । आकस्मिक रुपमा आयोजित पत्रकार सम्मेलनमा सामान्य प्रेस विज्ञप्ति पनि तयार थिएन ।
कार्कीले ‘नेपालको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा असर पार्ने व्यक्तिहरू उपर छानविन तीब्र पारिएको’ बताए । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा छानविनमा परेका व्यक्तिहरू ठूलो सार्वजनिक पद र प्रतिष्ठामा रहेको दाबीसमेत उनको थियो ।
अख्तियारले त्यतिबेलाको निर्णय प्रक्रियामा रहेका महत्वपूर्ण व्यक्तिलाई छानविनको दायरामा ल्याइएको जनाएको छ । त्यतिबेलाका कतिपय लडाकु कमान्डर हाल सार्वजनिक र संवैधानिक पदमा समेत छन् । माओवादीका तत्कालिन सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रधानमन्त्री छन् । उनी मातहतका कमाण्डरहरु नन्दकिशोर पुन पासाङ हाल उपराष्ट्रपति छन् । वर्षमान पुन अर्थमन्त्री भइसकेका सभासद् हुन भने जनार्दन शर्मा हाल ऊर्जामन्त्री छन् । अर्का कमान्डर चन्द्रदेव खनाल भने प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार हुन् । छानविनमा दोषी देखिए जुनसुकै व्यक्ति पनि कारवाहीमा पर्ने प्रवक्ता कार्कीले बताए । उनले भने, ‘अनुसन्धानको क्रममा दोषी पाइए जो पनि कारवाहीमा पर्न सक्छ । थप अरु व्यक्तिमाथि छानविन चलिरहेको छ ।’
२०७१ साल जेठ २५ मा पनि आयोगले पत्रकार सम्मेलन नै गरेर माओवादी लडाकु शिविरमा भएको अनियमितताको छानविन जारी रहेको जनाएको थियो । तत्कालिन प्रवक्ता श्रीधर सापकोटाले विस्तृत रुपमा छानविन चलिरहेको र नतिजा आउन समय लाग्ने बताएका थिए ।