नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टी छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने पक्षमा रहेको बताएका छन् ।
क्षितिज इङ्लिस बोर्डिङ स्कुलको १०औँ बार्षिकोत्सवमा सहभागी हुन बनेपा आएका नेता नेपालले भारतले पनि त्यसको लागि पहल गर्नुपर्ने बताए । हामी सम्बन्ध राम्रो गर्न चाहन्छौँ, तर एक हातले ताली बज्दैन, उनले भने, हामीलाई पनि शत्रु कमाउनु छैन, त्यसका लागि पारस्परिक सम्वाद आवश्यक छ ।
उनले नेपालको समस्या समाधान गर्न आफैं सक्षम भएको बताउँदै नेपाल सार्वभौमसत्ता सम्पन्न र भौगोलिक रुपमा अखण्ड मुलुक भएको बुझ्नुपर्ने बताए ।
एमालेलाई पाखा लगाएर संविधान कार्यान्वयन जटिल भएको भन्दै नेता नेपालले समझदारी कायम गर्न सरकारसँग आग्रह गरे ।
शत्रुता कायम गरेर, दूरी बढाएर, एमालेलाई कम आँकलन गरेर संविधान कार्यान्वयन सम्भव छैन, उनले भने, स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचनपछि संरचना खडा गरेर संविधान कार्यान्वयन गर्न दलहरुवीच समझदारी बनाउनुपर्यो ।
उनले जात र धर्मको नाममा जनता उकास्ने र भड्काउने काम नगर्न नेकपा (माओवादी केन्द्र) र मधेशवादी दललाई आग्रह गरे ।
त्यसो गरेमा स्वयम् पार्टी, जनता र राष्ट्रलाई हानी पुग्ने नेता नेपालको दाबी छ । कान्तिपुरमा समाचार छ ।