नेपाली कांग्रेस संसदीय कार्यसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा ‘थ्रेसहोल्ड’का लागि संशोधन प्रस्ताव पेस गर्ने भएको छ ।
कार्यसमितिको शुक्रबार सिंहदरबारमा सम्पन्न बैठकले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिने बैठकमा सहभागी नेता राधेश्याम अधिकारीले जानकारी दिए ।
उनले भने- राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डको प्रावधान राख्न जरुरी छ ।
बैठकमा व्यवस्थापिका-संसदमा प्रस्तुत् निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको थियो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका-संसदको बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरू सदनमा प्रस्तुत् गरेका थिए ।
उक्त दलका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ती विधेयकका मस्यौदामाथि शुक्रबार दिउँसो ४ बजेसम्म संशोधन प्रस्ताव दर्ता गराउन व्यवस्थापिका-संसद सचिवालयले सांसदहरुलाई समयसीमा तोकेको छ ।
दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले ती विधेयककाबारेमा अरु दलसँगसमेत छलफल गरिने जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवं रक्षामन्त्री बालकृष्ण खाँण, अर्का केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल, डा. रामशरण महतलगायतको सहभागितो थियो । रासस