अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषदका कार्यकारी सदस्य मुमाराम खनालले सो पार्टी परित्याग गरेका छन् ।
वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा. बाबुराम भट्टराई नेतृत्वको सो दलमा आफू समावेश भएको तर पार्टी सम्पूर्णरुपमा पूर्वमाओवादी समूहकारुपमा रुपान्तरण भएकाले अलग हुनुपरेको खनालले जनाएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सो पार्टीका राजनीतिक संवाद समितिका संयोजक खनालले पार्टीमा निश्चित समूहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै अपारदर्शी कर्मलाई निरन्तरता दिएको र सम्पूर्ण पार्टीको उर्जा पूर्वमाओवादीको आफ्नै विगतको कचिंगलमामात्र खपत हुन थालेको जिकिर गरेका छन् ।
नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन-खनालको भनाइ छ – यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र भएको घोषणा गर्दछु । रासस