कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताएका छन् ।
नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले भने- संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद एवं प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन, यो जिम्मेवारीलाई नेपाली कांग्रेसले पूरा गर्छ ।
उनले देशको समृद्धिका लागि सबै निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन पनि दिए ।
सो अवसरमा सांसदद्वय रामेश्वर ढुंगेल र डा. मनमोहन भट्टराई, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेविसंघ अध्यक्ष नैनसिंह महर, नेपाली कांग्रेस मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठलगायतले समयमै निर्वाचन सम्पन्न गरेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा २०४२ सालमा कांग्रेसले सुरु गरेको सत्याग्रह आन्दोलनमा मध्यपुरथिमि क्षेत्रबाट सहभागी भएर सत्याग्रह गर्ने २७ जना कांग्रेस सदस्यलाई देउवाले सम्मानपत्रद्वारा सम्मान गरेका थिए । रासस