चलचित्र छक्का पञ्जा ले कोहिनूरको रेकर्ड तोड्यो, पाचौ हप्तामा १२ करोड रुपैयाँको व्यापार

           
शुक्रबारदेखि प्रदर्शनको ३६ औं दिनमा प्रवेश गरेको फिल्म छक्का पञ्जा ले पाचौ हप्ता पार गर्दासम्म साढे १२ करोड रुपैयाँको व्यापार गरेको छ । जुन नेपाली फिल्म इतिहासमै अहिलेसम्मको कीर्तिमानी कमाइ हो । यसअघि उक्त कीर्तिमान झन्डै १० करोड रुपैयाँ व्यापार गरेको फिल्म कोहिनूर का नाममा थियो । फिल्मका निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनपछि कोहिनूर हेर्न दर्शक ओइरिएका थिए । दीपाश्री निरौला निर्देशित छक्का पञ्जा मा भने अधिकांश दर्शकले मनोरञ्जन लिएरै दोहोर्‍याई/तेहेर्‍याई हेरेका छन् ।

छक्का पञ्जा नहेर्ने त नेपाली नै नहोलान् कि भन्ने लाग्न थालिसक्यो, फिल्मको उपत्यका वितरण गरेको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले कान्तिपुरसँग भने, प्रदर्शनको छैटौं सातामा लाग्दा पनि अझै हलमा ८० देखि ९० प्रतिशत अकुमेन्सी छ । कमेडी जानरामा समसामयिक सामाजिक कथावस्तुलाई उठान गरिएको छक्का पञ्जा को व्यापार रिलिजको दिनदेखि निरन्तर एकै गतिमा उत्साहप्रद व्यापार गरिरहेको वितरकहरू बताउँछन् । छक्का पञ्जा को काठमाडौं वितरण गरेका गोपाल कायस्थ यस फिल्मले गरेको व्यापार देखेर चकित खाएका छन् । भन्छन्, नमुना नै भयो । फिल्म तिहारसम्म जाने कन्फर्म भयो । अझै पनि मल्टिप्लेक्समा लाइन लागेर टिकट काट्नुपरेको अवस्था छ । गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायण लगायत हलमा समेत अझै दर्शक उत्साह पहिलो दिनको भन्दा कम छैन ।


दीपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे (माग्नेबुढा), जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको छक्का पञ्जा मा कमेडी कलाकारको घुइँचो मात्रै नभई सुरुवातदेखि अन्त्यसम्मै दर्शकलाई हँसाउने सामथ्र्य राख्ने भएकाले पनि बढी रुचाइएको छ । यसअघि यही टिमले बनाएका दुई फिल्म छ एकान छ र वडा नम्बर छ पनि व्यावसायिक सफलता पाएका थिए ।

हामीले नेपाली फिल्मको व्यापारमा मात्रै कीर्तिमानी बनाउनुभन्दा पनि विदेशी फिल्मले यहाँका मल्टिप्लेक्सबाट गर्ने व्यापारलाई समेत उछिनेका छौं, दीपकराज गिरीले भने । उनले पनि छक्का पञ्जा ले देशभरबाट १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको पुष्टि गरे । जसमा उपत्यका बाहिरबाट मात्रै शुक्रबारसम्म फिल्मले ५ करोड हाराहारीको व्यापार गरेको नरेन्द्र महर्जनले बताए । ७ करोड रुपैयाँबढीको काठमाडौं उपत्यकाको कमाइको मुख्य हिस्सा चार हल सञ्चालित क्यूएफएक्स सिनेमाज रहेको छ । उक्त मल्टिप्लेक्सबाट मात्रै छक्का पञ्जा ले पाँच सातामा ३ करोड रुपैयाँ माथिको व्यापार गरेको निर्मातामध्येका एक दीपकराजले खुलाए । जसमा क्यूएफएक्स सेन्ट्रल हलले नै चौथो सातामै १ करोड रुपैयाँ कलेक्सन गरेको उनले बताए ।


छैटौं सातामा पनि राजधानीका मल्टिप्लेक्समा छक्का पञ्जा टसमस नभई चलिरहेको छ । क्यूएफएक्सले उक्त फिल्मलाई छैटौं सातामा रिलिज डेकै हाराहारीमा १५ सोज दिएको थियो भने अन्य मल्टिप्लेक्समा पनि सोजमा गिरावट आएको छैन । अब हाम्रो लक्ष्य राजधानीका सबै मल्टिप्लेक्समा ५१ दिन मनाउने हुनेछ, दीपकराजले योजना सुनाए । गोपाल कायस्थ फिल्मले ५१ दिन मनाउनेमा कुनै समस्या देख्दैनन् । त्यसो त छक्का पञ्जा ले प्रदर्शन अवधिमा सम्भावना बोकेका विदेशी फिल्मसँगै नेपाली फिल्मलाई पनि व्यावसायिक प्रतिस्पर्धामा उछिन्दै आएको छ । वितरकहरू अझै पनि छैटौं सातामा पुगेको छक्का पञ्ज ले दोस्रो सातामा पुगेको छविराज ओझा निर्मित किस्मत २ को भन्दा माथिको व्यापार गरेको बताउँछन् । दुवै फिल्मको काठमाडौं वितरणको जिम्मा सम्हालिरहेका गोपाल कायस्थले स्वीकार गर्दै भने, किस्मत २ ले एभरेज व्यापार गरेको छ । यसलाई पनि छक्का पञ्जा को असर परेको देखियो ।

काठमाडौं बाहिरका सिंगलस्क्रिन हलमा भने किस्मत २ ले सुखद व्यापार गरेको मान्छन्, नरेन्द्र महर्जन । इनिसियल व्यापार त अनएक्सपेक्टेड नै हानेको हो । तर टीकापछि स्थिर देखिएको छ । महर्जन छक्का पञ्जा को हीममा पनि किस्मत २ को व्यापार अनपेक्षित र सुखद रहेको तर्क गर्छन् । शिल्पा पोखरेल, किशोर खतिवडा, पृथ्वीराज लगायतको मुख्य अभिनय रहेको किस्मत २ लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

छक्का पञ्जा राजधानीबाहिर अझै पनि १४ स्टेसनमा चलिरहेको छ । सानो स्टेशनबाट चाहिं हाम्रो फिल्म हट्यो, दीपकराजले भने, तर अझै पनि मुख्य स्टेसनमा व्यापार राम्रो छ । काठमाडौंपछि नारायणगढमा फिल्मले उच्च व्यापार गरिरहको छ । प्रिय अभिनेता श्रीकृष्णको निधनले भावुक भई उनी अभिनीत कोहिनूर हेर्न दर्शक हलमा ओइरिएको दृष्टान्तलाई अपवाद मान्ने हो भने छक्का पञ्जा को अहिलेको व्यापार हिट मानिएका नेपाली फिल्मको भन्दा दोब्बर भइसकेको छ । कोहिनूर ले राजधानी बाहिर ४ करोड रुपैयाँ माथिको व्यापार गरेको थियो ।