संसद मातहत महाअभियोग सिफारिस समिति गठन

व्यवस्थापिका-संसद मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ ।
व्यवस्थापिका-संसदको बुधबारको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत् गरेकोमा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो ।
नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवं संसद नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य हुनेछ ।
उक्त समितिमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, फर्मुल्ला मन्सुर, दीपकप्रसाद कुइँकेल, कुमारी लक्ष्मी राई, नेकपा एमालेका केशव बडाल, रेवतीरमण भण्डारी, पार्वत गुरुङ, सुशीला नेपाल, नेकपा माओवादी केन्द्रका रामनारायण बिडारी, अमनलाल मोदी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरी रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलना गर्न खोजेको आरोप लगाउँदै मंगलबार संसद बैठकमा सांसदहरुले महाभियोग लगाएर हटाउन माग गरेको भोलिपल्ट समिति गठन गरिएको छ । रासस