काभ्रेपलाञ्चोकका नौ सय भूकम्पपीडिले अझै पुनर्निर्माण आवास अनुदान रकम पाउन सकेनन्

काभ्रेपलाञ्चोकका नौ सय भूकम्पपीडिले अझै पुनर्निर्माण आवास अनुदान रकम पाउन सकेको छैनन्। जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्पपीडिले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज ढकालले बताए।
जग्गाधनी प्रमाणपूर्जा नभएका त्यस्ता भूकम्प पिडीतलाई पुनर्निर्माण आवास अनुदान रकम उपलब्ध गराउने बिषयमा कुनै कार्यविधि र स्पष्ट निर्देशन नआएको उनले स्पष्ट पारे।
बिशेषगरी जिल्लाको फँलाटे र भूम्लुटारवासीको भूकम्प पिडीतको नाममा जग्गाधनी लालपूर्जा छैन भने कोशिदेखा, सिम्थली लगायतका गाविसमा गुठी र सुकुम्वासी जग्गा सम्बन्धी समस्या देखिएको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ। जिल्लामा कुल ५८ हजार ६०८ लाभग्राहीको सूचना प्रकासन भएकोमा ५५ हजार ८६५ जनाको लागि बजेट निकासा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय, धुलिखेलमा पत्राचार भएको योजना अधिकृत ढकालले बताए।
जिल्लामा कुल ५७ हजार ८६५ जनाले आवास पुनर्निर्माणका लागि पहिलो किस्ता वापतको रु। ५० हजार रकम पाउँदै छन। ५७ गाविस र पाँच नगरपालिका रहेको काभ्रेपलाञ्चोकमा हालसम्म कुनै पनि भूकम्पपीडितले शतप्रतिशत पुनर्निर्माण आवास अनुदान रकम पाएका छैनन्। रासस