नजिकँदो तिहारपर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ ।
गत वर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ- अध्यक्ष श्रेष्ठले भने- गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला रु एक सयदेखि १२० सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा रु ८० सम्म तिर्नुपर्ने हुन्छ ।
पछिल्लो समय मुलुक गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन । तिहारकाबेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ ।
हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमामात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ ।
तीमध्ये ९ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौं उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनकाअनुसार मुलुकभर तिहारमामात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ ।
नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ ।
फूलको माँगमा आएको बृद्धिसँगै यतिखेर काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म/नर्सरी विस्तार भइसकेको छ ।
नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् । रासस