किन पर सारियो संसद बैठक दुई हप्ताभन्दा बढी समयका लागि

   टीकाराम तामाङ, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल प्रारम्भ हुनासाथ संसद बैठक लामो समयसम्मका लागि स्थगित भएको छ ।

नजिकिँदै गरेको तिहार, छठ पर्व लगायत कारण देखाउँदै संसद बैठक दुई हप्ताभन्दा बढी समयका लागि पर सारिएको हो । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले दीपावली, छठ पर्वमा सांसदहरु आ आफ्नो घर जाने भएकाले संसद बैठक दुई हप्ताका लागि स्थगित गरिएको बताए । मंगलबार महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएपछि संसद बैठक कात्तिक २५ गतेसम्मलाई स्थगित भएको छ ।

तर, सत्तारुढ दल कांग्रेससाग सहमति नभएका कारण संसद बैठक लामो समयलाई स्थगित गरेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका सांसद् रामनारायण बिडारीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग सहमति नभएका कारण बैठक ढिला गरी बोलाउन सभामुखलाई सुझाव दिएको जानकारी दिए । उनले भने, संसद बैठक टाढा पुर्‍याउनुमा कांग्रेससँग सहमति नभएरै हो, यसबीचमा कांग्रेसलाई सहमतिमा ल्याउनुछ । 

प्रतिपक्षी एमालेसहितका दलहरु अख्तियार प्रमुख कार्कीलाई हटाउनुपर्ने पक्षमा दह्रो ढंगले उभिए पनि सत्तारुढ कांग्रेसले अझै निर्णय लिन सकेको छैन । तर, उसभित्र महाअभियोगको पक्षमा उभिने मत बलियो बन्दै गएको छ । स्रोतका अनुसार मंगलबारसम्म चार दिन बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा महाअभियोगका पक्षमा धेरैले मत राखेका थिए ।

मंगलबारको संसद बैठकमा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावका समर्थकसहित १५ जनाले महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिए । जसमा कांग्रेस सांसद एवं स्वास्थ्यमन्त्री गगन थापा, सांसद रामहरि खतिवडा लगायतले महाअभियोग प्रस्तावको पक्षमा खुलेरै बोलेका थिए । उनीहरुले पार्टी नेतृत्वलाई चाँडो महाअभियोगको पक्षमा उभिन र अन्य सांसदलाई पारित गराउनमा सहयोग गर्न आग्रह पनि गरे ।

महाअभियोग प्रस्तावमा पहिलो दिन मंगलबार भाग लिने अधिकांश दलीय प्रतिनिधिले त्यसकै पक्षमा वकालत गरे । प्रतिपक्षी दल एमालेका रवीन्द्र अधिकारी, यज्ञ सुनुवार, मालेका महासचिव सीपी मैनाली, नेमकिपाकी सांसद अनुराधा थापामगर, जनमोर्चाकी मीना पुन लगायतले महाअभियोगको पक्षमा बोले ।

राप्रपा नेपालकी सांसद कुन्तीकुमारी शाही, फोरम लोकतान्त्रिकका जीतेन्द्रनारायण देव, नेपाल परिवार दलका सांसद एकनाथ ढकालले पनि महाअभियोगलाई सकारात्मक भनेका थिए ।
अब कार्तिक २५ गते दिउँसो २ बजे बस्ने संसद बैठकमा महाअभियोग प्रस्तावमाथिको प्रारम्भिक छलफलले निरन्तरता पाउने छ । मंगलबार नै झन्डै ४० जनाले बोल्नका लागि नाम टिपाइसकेका संसद सचिवालयका प्रवक्ता गौतमले बताए ।

प्रारम्भिक छलफल सकेपछि प्रस्ताव महाअभियोग सिफारिस समितिमा जानेछ । कांग्रेस, एमाले, माओवादी, राप्रपा नेपालका प्रतिनिधि रहेको सिफारिस समितिले आफ्नो कार्यविधिसमेत तयार पारिसकेको जनाएको छ ।

कान्तिपुरबाट