सत्तारुढ कांग्रेसका सांसद एवं स्वास्थ्यमन्त्री गगन थापाले आफू अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा रहेका बताएका छन् ।
संसदमा महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै थापाले यस्तो बताएका हुन् । उनले अख्तियारको दुरुपयोग कार्कीबाट हुँदै गएकोले महाअभियोग लगाउनु अपरिहार्य रहेको बताए । मन्त्री थापाले महाअभियोग प्रस्ताव पारित गर्न सबैलाई दलका सांसदहरुलाई आग्रह समेत गरे ।
कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दादेखि नै आफूहरु विपक्षमा रहेको उनको भनाइ छ । कार्कीलाई नियुक्त गर्न नहुने आफूहरुको मागमा पार्टी नेतृत्वले समेत सुनुवाइ नगरेको बताउँदै उनले भने, कार्कीलाई नियुक्त गर्नु नै गल्ती हो ।
प्रा.डा.गोविन्द केसीले अनसनका क्रममा भ्रष्टाचारमा लागेको, अख्तियारको दुरुपयोग गरेको भन्दै उठाएको माग आफूहरुलाई जायज लागेर त्यस विषयमा संसदमा सार्वजनिक महत्वको जरुरी प्रस्ताव दर्ता गरेको समेत स्मरण गरे । तर, सार्वजनिक महत्व जरुरी प्रस्तावमाथि छलफलको समय नदिएको भन्दै स्वास्थ्य मन्त्री थापाले गुनासो गरे । कान्तिपुरले लेखेको छ ।