अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुखआयुक्त लोकमानसिंह कार्कीविरुद्ध परेको महाभियोग प्रस्ताव छानबिन क्रममा सर्वसाधारणले पनि संसदलाई सूचना दिन पाउने भएका छन्।
महाभियोग सिफारिस समितिअन्तर्गतको आन्तरिक कार्यविधि उपसमितिले आरोपित व्यक्तिको छानबिन क्रममा सर्वसाधारणले पनि जानकारी दिन सक्ने प्रस्तावसहितको कार्यविधि तयार पारेको हो।
उपसमितिले उक्त कार्यविधि बुधबार समितिलाई बुझाएको छ। यो कार्यविधि कात्तिक २६ गते बस्ने बैठकले पारित गर्ने महाभियोग सिफारिस समितिका सदस्य रेवतीरमण भण्डारीले सेतोपाटीलाई बताए।
कार्यविधि पास भएपछि लोकमानविरुद्धको महाभियोग छानबिन क्रममा सर्वसाधारणले पनि आफूलाई थाहा भएको सूचना संसद र समितिलाई दिन बाटो खुल्नेछ ।
प्रस्तावित कार्यविधिमा उल्लिखित अन्य प्रावधानअनुसार महाभियोग सिफारिस समितिले आरोपित व्यक्तिको कार्यालयमा खानतलासी, निरीक्षण, अनुगमन र आवश्यक फाइल झिकाउन सक्नेछ। आरोपित व्यक्तिसँग सम्बन्धित अन्य व्यक्तिहरूलाई पनि बोलाएर बयान लिन सक्ने कार्यविधिमा उल्लेख छ। सेतोपाटीले लेखेको छ ।