अख्तियार प्रमुख आयुक्तलाई नै महाअभियोग लगाउनुपर्ने परिघटना आफैंमा नकारात्मक: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भष्टचारविरुद्ध काम गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई  नै महाअभियोग लगाउनुपर्ने परिघटना आफैंमा नकारात्मक भए पनि सकारात्मक परिणाम निस्कने बताएका छन् ।  
अख्तियार प्रमुख लोकमान विरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि बढाउन दवाव दिन शुक्रबार सिंहदरवार पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग प्रधानमन्त्री दाहालले  यस्तो  भनेका हुन् । उनले निलम्बित अख्तियार प्रमुख कार्की विरुद्धको  महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतर्फ अघि बढेको पनि बताए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अखिल(क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले भने- ‘कांग्रेस, एमाले र मधेसी मोर्चा समेतसँग महाअभियोगलाई सहमतिका साथ टुङ्गो लगाउने गरी छलफल भएको छ।’
प्रधानमन्त्रीले सडक आन्दोलन मार्फत् दलहरूलाई एकठाउँमा ल्याउन र जनमत निर्माण गर्नमा सकारात्मक भुमिका खेलेको भन्दै विद्यार्थी संगठनहरूई धन्यवाद समेत दिएका थिए । 
प्रधानमन्त्रीसँगको भेटमा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने , नेविसंघ अध्यक्ष नैनसिह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा लगायतको सहभागिता थियो ।
लोकमान विरुद्धको महाअभियोग तत्काल पारित गर्न  अनेरास्ववियु, नेविसंघ, अखिल(क्रान्तिकारी)सहितका ११ विद्यार्थी संगठन आन्दोलनरत छन् । यसअघि ति संगठनहरुले सभामुख ओनसरी घर्तीमगर , कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराइसकेका छन् । कान्तिपुरमा समाचार छ ।