हिमाल पहाड तराई सबैतिर तिहारको रौनकले छोपेको छ । शुक्रबारदेखि यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन काग तिहार मनाइयो । तराईमा कुकुर तिहार हुँदै लक्ष्मीपूजा, गोवर्धन पूजा र भाइटीकापछि चाडपर्वको रौनक छठ पूजामा केन्द्रित हुनेछ । घरघरको सरसफाइ गरिएको छ । घर, चोक झिलिमिली पारिएको छ । कान्तिपुरमा समाचार छ
तिहार सकिएसँगै छठको रौनक सुरु हुन्छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले विधिपूर्वक शुद्धताका लागि स्नान गरी छठ पूजाप्रति ध्यान केन्द्रित गर्न नहाय खाय गर्छन् । व्रतालु महिलाले दिनभरि छठ व्रत बसेर साँझ सखरको खीर खाने र भोलिपल्ट दिनभर निराहार बसी साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् । छठको पूजाका लागि गहुँ र चामलको पीठोबाट विभिन्न गुलिया खाद्य सामग्री बनाइन्छ ।
छठ व्रत बस्नाले छालासम्बन्धी रोगबाट मुक्ति पाइने, पारिवारिक सुख, श्रीमान् र बालबालिकाको स्वास्थ्य लाभ तथा पुत्र लाभ हुने जनविश्वास रहिआएको छ । आरोग्य र दीर्घायुसँगै जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइएको छ ।
केही वर्षयता मैथिल, मधेसी, पहाडी, मुस्लिम लगायत सबै धर्म, सम्प्रदाय र जातजातिले छठ पर्व मनाउन थालेपछि यस पर्वलाई आपसी सद्भाव बढाउने पर्वका रूपमा समेत लिने गरिन्छ । षष्ठी तिथिमा यो पर्व मनाउने गरेका हुनाले यसलाई छठ पर्व भनिन्छ ।
यो पर्वको वैज्ञानिक महत्त्व पनि रहेको छ । कात्तिक शुक्लपक्ष षष्ठी तिथिमा विशेष प्रभावका कारण सूर्यका परावैजनिक किरण पृथ्वीसम्म आइपुग्ने मान्यता छ । यसले मानव जीवनमा निकै नै प्रभाव पार्ने भएकाले यस प्रभावबाट मुक्तिका लागि छठ पर्वको प्रारम्भ गरिएको हो भन्ने मान्यता पाइन्छ । पोखरी वा नदीअगाडि बस्नु, बाँसका डाली तथा ढाकीमा विभिन्न प्रकारका वनस्पतिको प्रयोगजस्ता क्रियाकलापले उक्त तथ्यलाई प्रस्ट पारेको जानकारहरूको मान्यता छ । ४ दिनसम्म मनाइने यो पर्व भाइटीकाको तेस्रो दिनबाट प्रारम्भ हुन्छ ।
बजारमा चहलपहल
तिहारकै अवसरमा धन्वन्तरि पूजा अर्थात धनतेरसका अवसरमा शुक्रबार सप्तरीका विभिन्न बजारमा द्रव्यको किनमेलका लागि उपभोक्ताको घुइँचो लागेको छ । धनतेरसका दिन सुनचाँदी लगायत द्रव्यमूलक सामग्री खरिद गरे राम्रो हुने मान्यतामा हरेक वर्ष यस दिन नयाँ वस्तु खरिद गर्नेको बजारमा घुइँचो लाग्ने गरेको छ । यस्तै तिहारका घर, कार्यालय, पसल, व्यापारिक प्रतिष्ठान सजाउने सामग्रीको बिक्री पनि बढेको छ । यसका साथै तिहारलगतै छठको सुरुवात हुने भएकाले छठ पूजा सामग्रीको खरिदका लागि पनि बजारमा सर्वसाधारणको भीड लागेको छ ।
सुखरात्रिको तयारीमा जनकपुरवासी
मिथिलाञ्चलको महान् पर्व सुखरात्रि अर्थात् दीपावलीको तयारी अन्तिम चरणमा पुगेको छ । दीपावलीको समापन एवं छठ पर्वको पूर्वसन्ध्यामा आउँदो कात्तिक १९ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएकाले नगर क्षेत्रको विशेष सफाइ तथा साज-शृंगार गरिँदै छ । यसअघि नागरिक स्तरमा हुँदै आएको साफ-सफाइमा यस वर्ष जनकपुर उपमहानगरपालिकासमेत सहभागी भएको छ । सडक विभाग सडक मर्मतको काममा जुटेको छ ।
धनकी देवी भनिने लक्ष्मीको पूजा हुने यस पर्वलाई मिथिलाञ्चलमा सुखरात्रि अर्थात सुखको राति भनिन्छ । सुखरात्रिको अवसरमा घर, आँगनको सफाइ मात्र होइन, घरमा भएका सम्पूर्ण सामानको सफाइ तथा रंगरोगन गर्ने परम्परा छ । यहाँको प्रत्येक घरमा तेलको दियो बाल्ने, उल्का भ्रमण (हुक्कालोली) गर्ने तथा मीठो खानेकुरा खाने चलन छ तर पछिल्लो समय दियोको सट्टा बिजुलीको झिलिमिली बत्ती बाल्ने क्रम सुरु भएकामा संस्कृतिविदहरूले चिन्ता व्यक्त गरेका छन् ।
संस्कृतिविद रामचन्द्र झाले भने, ‘दियो वातावरणमैत्री हो अनि यसबाट किरा-फट्यांग्रा पनि नियन्त्रण हुन्छ ।’ दीपावलीको अवसरमा घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरू सजाउन केराको बोटको अत्यधिक प्रयोग हुँदै आएकामा जनकपुर उपमहानगर पालिकाले यस वर्ष त्यसलाई नियन्त्रण गर्ने योजना बनाएको छ । कान्तिपुरमा समाचार छ ।