आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै

आज हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन भाईटिका, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै छ ।
Image result for आज भाईटिका  arghakhanchi.com
फाइल तस्बिर 
भाइटीकाका लागि शुभसाइत बिहान ११:५२ मिनेटमा रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।
 
भाइटीका अगाडि दिदीबहिनीले यमराजको प्रार्थना,  धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोऽस्तुते  ।। तथा पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
 
हरेक वर्ष भाइटीकाको दिन खुला गरिने रानीपोखरीस्थित बालगोपाल मन्दिरमा पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि भाइटीका नहुने भएको छ ।  भूकम्पले क्षतिग्रस्त भएको मन्दिरको अझैपनि जीर्णोद्धार नहुँदा मन्दिरमा टीकाको कार्यक्रम नराखिएको हो । तर, बसन्तपुरस्थित काष्ठमन्डपमा अस्थायी पाल राखेर सामूहिक भाइटीका गर्ने तयारी गरिएको छ ।