भारतले पेन्सन लिने व्यवस्था थप सहज बनाउन बुटवलमा नयाँ कार्यालय खोल्ने

भारतले भारतीय सेनाबाट सेवानिवृत्त नेपालीहरुको पेन्सन लिने व्यवस्थालाई सहज बनाउन नेपालमा नयाँ कार्यालय स्थापना गर्ने भएको छ। 
नेपाल भ्रमणमा रहेका भारतीय सेनाका स्थलसेनाध्यक्ष दलबीर सिंहले पेन्सन लिने व्यवस्था थप सहज बनाउन बुटवलमा भारतले नयाँ कार्यालयको स्थापना गर्न लागेको जानकारी गराएका हुन्।
शनिबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहालसंगको भेटमा उनले नेपाल र भारतीयबीचको पुरानो सम्बन्ध थप मजबुत बनाउँदै भारतीय सेनामा रहेर सेवानिवृत्त भएका नेपालीको सुविधाका लागि बुटवलमा नयाँ कार्यालय स्थापना गरिने बताए। भेटमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स-बिमस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताएका प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।
नेपाली सेनाका मानार्थ महारथी समेत रहेका भारतीय स्थलसेनाध्यक्ष सिंहको यो दोश्रो नेपाल भ्रमण हो। यसअघि उनी २०१४मा नेपाल भ्रमणमा आएका थिए। सेतोपाटीमा समाचार छ ।