सुर्य भुसाल
पोखरा । कांग्रेसको भातृ संस्था नेपाल तरुणदलको चौथो महाधिवेशनबाट भागबण्डाको आधारमा नेतृत्व चयन गर्ने कसरत गरिएको छ । नेतृत्वसहितका पदाधिकारीमा माउ पार्टीका तीन नेताहरुबीच भागबण्डा भएको बुझिएको छ ।
पार्टी सभापति शेरवहादुर देउवालाई अध्यक्ष, सिटौला समूहलाई उपाध्यक्ष र रामचन्द्र पौडेल समूहलाई महासचिव पद वाँडफाँड भएको श्रोतले जानकारी दिएको छ । यद्यपी यसको औपचारिक घोषणा हुन वाँकी नै रहेको छ । सभापति देउवाले जितजंग वस्तेतलाई अध्यक्षमा प्रस्ताव गरेका छन् । रामचन्द्र पौडेल र सिटौला समूहले आधिकारिक नाम अझै घोषणा गरेका छैनन् ।
यता पोखरा आएका देशभरका तरुण कार्यकर्ताहरु निर्वाचन नै अन्यौलमा परेपछि आज धमाधम आफ्नो घर तिर फर्केका छन् । केही तरुण कार्यकर्ताहरुले विधि सम्मत निर्वाचनको माग गर्दै सभागृह गेट अगाडि धर्नामा बस्ने तयारी थालेका छन् ।
देशको प्रजातान्त्रिक पार्टीको भातृ संगठनको निर्वाचन विना नै नेतृत्व चयन हुने आशंका वढेपछि हामी अनसनमा वस्ने तयारीमा छौं , सभागृह गेटमा भेटिएका केही युवा तरुणहरुले भने ।
यता निर्वाचनको लागि तयार भएर वसेको निर्वाचन समितिले कुनै पनि काम नपाएको वुझिएको छ । निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतहरुले माउ नेताले दिने डकुमेन्ट कुरेर वसेका छन् भने अहिलेसम्म निर्वाचनका कुनै पनि प्रक्रिया सुरु भएका छैनन् ।
निर्वाचन अधिकृत देवीलाल शर्माले नेताहरुवाट अहिलेसम्म निर्वाचनको लागि कुनै आदेश नआएको बताउँदै भने, जे गर्ने आदेश आउँछ त्यही गरौला भनेर सभागृह भित्रै वसिरहेका छौ ।