नवलपरासीमा १५ ओटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्ताव उल्लेख गरिएको माइन्युट मधेसी दलका प्रतिनिधिले आफ्नोे नियन्त्रणमा लिएका छन् ।
स्थानीय तहको पुनःसंरचना टुंग्याउन आइतबार तेस्रोपटक बसेको सर्वदलीय बैठकमा सो प्रस्तावप्रति असहमति जनाउँदै मधेसकेन्दित दलका प्रतिनिधिले माइन्युटसमेत आफ्नो नियन्त्रणमा लिएका हुन् ।
जिल्लाको पुरानो सातओटा नगरपालिकाको अस्तित्व कायम रहने गरी सात नगरपालिका र आठ गाउँपालिकामा प्रमुख दलले सहमति जुटाउन खोज्दा मोर्चाले उक्त संरचनाको विरोध गर्दै माइन्युट आफ्नो नियन्त्रणमा लिएका हुन् ।
पटक-पटक मोर्चाले संविधान संशोधन गरी सीमांकन टुंगो नभएसम्म पुनःसंरचनाप्रति असहमति जनाएको अवस्थामा पुनःसंरचनाको खाका माइन्युटमा उल्लेख गर्न खोज्दा मोर्चाले माइन्युट आफ्नो कब्जामा लिएको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुरन चौधरीले बताए ।
संविधानको व्यवस्थाअनुसार नवलपरासी जिल्लाको दाउन्नेपूर्व भाग प्रदेश ४ र पश्चिम भाग प्रदेश नम्बर-५ गरी जिल्ला विभाजन भएपनि यसको सीमांकन प्रस्ट नभएकाले अहिले स्थानीय तहको पुनःसंरचना उचित नरहेको मोर्चाले दाबी गरेको छ ।
शीर्ष दलले राखेको धारणाप्रति मोर्चा, नयाँ शक्ति नेपाल, जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दललगायतले असन्तुष्टि जनाउँदै पहिला सीमांकन स्पस्ट भएपछिमात्र पुनःसंरचनाको खाका बनाउन आग्रह गरेका छन् ।
भौगोलिक, प्रशासनिक सुगमता, स्रोत-साधनको उपलब्धता, जनसंख्यालगायत आयोगले तोकेको मापदन्डको आधारमा १५ ओटा स्थानीय तहको प्रस्ताव गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ ।
नवलपरासीको जनसंख्याअनुसार न्यूनतम् ११ देखि १५ ओटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ । रासस