राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा मंगलबार पदवहाली गरेका छन् ।
राप्रपा नेपाल राप्रपामा सोमबार एकीकृत भएपछि उनले कार्यकारी अध्यक्षकारुपमा मंगलबार पदवहाली गरेका हुन् ।
यसैबीच, एकीकरणपछि पार्टीको पहिलोपटक मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकताको सन्देश दिन केन्द्रीय नेताको सहभागितामा देशका ७५ जिल्लामा आमसभा गर्ने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष थापाको सभापतित्वमा चाबहिलमा बसेको सो बैठकले पार्टी एकता भएपछि एकताको आधार र निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।
यसैगरी, पार्टी राप्रपासँग एकीकरणपछि पहिलोपटक बुधबार (भोलि) काठमाडौंमा केन्द्रीय समितिको बैठक बस्दैछ ।
पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ३०० जनाको सहभागितामा बस्ने केन्द्रीय समितिको बैठकमा मंगलबार गरिएका निर्णय पारित गर्न प्रस्तुत् गरिनेछ ।
त्यसैगरी, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा राष्ट्रिय राजनीतिको विकासमा खेल्नुपर्ने भूमिकाकाबारेमा छलफल गरिने नेता श्रेष्ठले जानकारी दिए । रासस