सुडानको डार्फरस्थित राष्ट्रसंघीय नियोगमा कार्यरत दुई जना नेपाली अाइतबार अपहरणमा परेको जानकारी एएफपीले दिएको छ। राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीअर)मा कार्यरत तीन जनालाई यसरी हतियारधारी समूहले अपहरण गरेकामा तीमध्ये अर्का एक भने सुडानकै नागरिक हुन्। अपहरणमा परेको जानकारी स्थानीय सरकारी निकायलाइ उद्धृत गर्दै सोमबार मात्र सार्वजनिक भएको हो।
पश्चिमी डार्फर राज्यको राजधानी जेनैनाबाट उनीहरू अपहरणमा परेका हुन्।
पश्चिमी डार्फरका प्रवक्ता अब्देलाह मुस्तफाले यो सूचनाको पुष्टी गरेका हु्न्।
अरब मुलुकको प्रभावमा स्थापित सरकारका अोमार अल बसिरका विरूद्ध अल्पसंख्यक जातीय समूहले भिषण सशस्त्र द्वन्द्व थालेपछि र सरकारले पनि त्यसका विरूद्ध हिंस्रक प्रतिरोध गरेपछि १३ वर्षदेखि यो मुलुक अशान्त रहँदै अाएको छ। राष्ट्रसंघको तथ्यांकअनुसार त्यसयता तीन लाखभन्दा बढी मानिसको हत्या भइसकेको छ भने २५ लाख मानिस विस्थापित भइसकेका छन्।
वासिरलाइ अन्तर्राष्ट्रीय फाैजदारी अदालतले युद्ध अपराध र नरसंहारको कसुरमा खोजी गरिरहेको छ भने उनको पक्षले यसको प्रतिवाद गर्दैअाइरहेको छ।
अर्कोतर्फ सुडानले डार्फरको द्वन्द्व अन्त्य भइसकेको दाबी गर्दै त्यहाँ सन्२००७ देखि खटिँदै अाएका झण्डै फ्रान्सको जनसंख्या बराबरको राष्ट्रसंघीय शान्तिसेना फिर्ता लैजान माँग गर्दै अाइरहेको छ। सेतोपाटीमा समाचार छ ।