५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन विधेयक विरुद्ध बुटवलमा अनिश्चितकालिन बन्द आव्हान भएको छ । कान्तिपुरमा समाचार छ ।
बिहान विद्यार्थी संगठनको आब्हानमा भएको चक्काजाम दिउँसो अनिश्चितकालीन बन्दमा परिणत भएको छ । दिउँसोदेखि अखण्ड लुम्बिनी दबाब अभियानले अनिश्चितकालीन बन्द आब्हान गरेको हो । विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्वसाधारणहरु स्वतस्फूर्त सडकमा उत्रिएका छन् ।
केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका दलका कार्यकर्तासमेत विरोधमा उत्रिएका छन् । बन्दका कारण पूर्व-पश्चिम तथा उत्तर-दक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । सवारी नचलेपछि धेरैजसो शिक्षणसंस्था बन्द छन् । सडकमा नाराजुलुस सहित टायर बालिएका छन् ।
स्तस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल, पहाड, तराई कोही छैन पराई, देश बचाऔं, राष्ट्रियता जोगाऔं लगायतका नारा लगाएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ लगायतका उद्योगी तथा व्यापारिक संघसस्थाहरुले पनि विज्ञप्ति निकालेर ५ नम्बर प्रदेश टुक्र्याउने संशोधन दर्ता विरुद्ध आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
बुटवलसँगै देवदह, सैनामैना, मणिग्राम लगायतका क्षेत्रमा पनि विरोधका कार्यक्रम भएका छन् । पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम दैलेख सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रस्ताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीहरुले चेतावनी दिएका छन् ।
५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, सस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्रन सक्ने उनीहरुको चेतावनी छ । कान्तिपुरमा समाचार छ ।