तेह्रथुमको म्याङलुङ १ गढीभिरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् ।
धरानबाट तेह्रथुमको औंशीडाँडातर्फ जाँदै गरेको ना ४ ख २८६५ नम्बरको बस गढीभिरको सडकबाट करिब १ सय मिटर तल खसेको घटनास्थलबाट जिल्ला ट्राफिक प्रमुख भिम कटुवालले जानकारी दिए ।
एक महिला, एक पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तेह्रथुम सिम्ले ४ का ६६ वर्षीय गुमानसिंह लिम्बु, सोही स्थानका ४५ वर्षीय कालीमाया लिम्बु र संखुवासभा मामलिङ ५ का ७ वर्षीया अञ्जनी याख्खा रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते ९ जनालाई थप उपचारका लागि धरानस्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य घाइतको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइरहेको छ । तिव्र गतीका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रमुख कटुवालले जानकारी दिए । बसका चालक बमबहादुर पराजुली फरार रहेको प्रहरीले जनाएको छ ।
मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घाइतेको नेपाली प्रहरी, सशस्त्र र स्थानीयवासीले उद्धार गरेका छन् ।
कान्तिपुरबाट