एमाले महासचिव ईश्वर पोखरेलले सरकारद्वारा सदनमा प्रस्तुत संविधान संशोधन विधेयकलाई कुनै हालतमा पनि छलफलमा लैजान नदिने धारणा दोहोर्याएका छन् ।
पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघको प्रदेश नम्बर एक स्तरीय भेलालाई सोमबार यहाा सम्बोधन गर्दै असंवैधानिक एजेण्डलाई छलफलमा प्रवेश नदिने जिकिर गरेका हुन् ।
संविधानले निर्दिष्ट नगरेको विषय छलफलमा लग्यो भने त्यो नजिर स्थापित हुन्छ, एमाले नेताले भने, त्यसले अन्य गैर संवैधानिक विषयले समेत छलफलमा प्रवेश पाउने बाटो खुल्छ ।
एमाले महासचिवले सरकारबाट प्रस्तुत संशोधन विधेयक राष्ट्रिय स्वार्थ विपरित रहेको दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बाह्य शक्तिको प्रभावमा विधेयक संसदमा प्रस्तुत गरेको पार्टीको ठहर रहेको उल्लेख गरे । एमाले लगायतका प्रतिपक्षि दलहरुको अडान विपरित प्रस्तुत विधेयकलाई सरकारले छलफलमा लैजान नसक्ने एमाले नेताको दावी छ ।
भेलामा एमाले अध्यक्ष आउने व्यापक प्रचार गरिए पनि प्रमुख अतिथिको रुपमा महासचिव पोखरेलले सभालाई सम्बोधन गरेका थिए ।
पार्टीको नवौं महाधिवेशनले मुलुकको आर्थिक समृद्धिलाई दिशा निर्देश गरकाले एमाले निकट र त्यस इतरका उद्योगी व्यवसायीलाई त्यस अनुरुप उद्योग/व्यवसाय एवम् कृषि क्षेत्रको उन्नतितर्फ अग्रसर हुन आग्रह गरे ।
तपाईंहरु पर्यटन, उर्जा, कृषि लगायतका क्षेत्रमा लगानी केन्द्रीत गर्न चाहनुहुन्छ भने प्रस्ताव लिएर आउनुहोस्, महासचिव पोखरेलले भने, पार्टी सरकारमा रहे पनि नरहे पनि त्यस्ता प्रस्ताव कार्यन्वयनमा अधिकतमभन्दा अधिकतम सहयोग गर्न सकिन्छ ।
व्यापक रोजगारी सिर्जना गर्दै जनताको आर्थिक समृद्धि हुने पारदर्शी, अग्रगामी एवम् कानुन सम्मत आर्थिक गतिविधिमा पार्टी अडिन नसके त्यो जनताको पार्टी हुन नसक्ने पोखरेलको भनाई थियो ।
व्यवासायीको सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता एवं सचिव योगेश भट्टराईले एक नम्बर प्रदेश कृषि उद्यमका दृष्टिले मुलुककै सबैभन्दा समृद्ध क्षेत्र भएकाले उद्यमी व्यवसायीले त्यसको उच्चतम प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए । सभालाई केन्द्रीय सदस्य मुकुन्द न्यौपानेले पनि सम्बोधन गरेका थिए । कान्तिपुरमा समाचार छ ।