सुर्य भुसाल
इटहरी । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर इटरीलाई मदिरा निषेधीत क्षेत्र बनाउने तयारी भएको छ ।
प्रतियोगितामा सहभागी हुन खेलाडी, अफिसियल र दर्शकहरु आउने र जाँडरक्सीका कारण शान्ति सुरक्षामा खलल पुग्ने भएकाले यस्तो योजना ल्याइएको हो ।
प्रतियोगिता अवधिभर इटहरीका होटललाई जाँडरक्सी नबेच्न अनुरोध गरिएको छ । यसमा होटल व्यवसायी संघ इटहरीले समेत सहयोग गर्ने वचन दिएको छ ।
इलाका पहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो ‘यसका लागि आवश्यक गृहकार्य गरिरहेका छौं ।’ उहाँका अनुसार खेलाडी र खेल पदाधिकारी बस्ने होटलमा जाँडरक्सी नबच्ने सहमति भइसकेको छ । अरु होटलमा पनि नबेच्न अनुरोध गरिएको छ । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष अनुरोध थापाले अन्यत्र नसकिए पनि खेलाडी बस्ने होटलमा जाँडरक्सी नबेच्ने सहमति भएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीले पुस ९ गतेबाट पूर्वाञ्चलमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर जाँडरक्सीमा निषेध गर्न लागिएको हो । इटहरीमा बस्ने खेलाडी तथा उच्च पदाधिकारीको सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । यस्तै इटहरीको लोकप्रिय पर्यटकीय स्थल तालतलैयामा पनि सोमबारदेखि जाँडरक्सी निषेधित क्षेत्र तोकिएको छ ।