प्रकाश अधिकारी
(सुर्खेत) प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै संरचनामा स्थानीय निर्वाचन नहुने बताएका छन् । अब हुने निर्वाचन स्थानीय तहकै हो । पुरानै संरचनामा निर्वाचनमा जानु भनेको संविधान कार्यान्वयनबाट पछाडि हट्नु हो ।
वीरेन्द्रनगरमा मंगलबार प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेश कमिटीद्वारा आयोजित पत्रकार भेटघाटमा दाहालले भने, यस विषयमा प्रमुख तीन दलका नेताहरुबीच छलफल चलिरहेको छ । संविधानअनुसार स्थानीय तहकै निर्वाचन हुन्छ । उनले आफू पुरानै संरचनालाई आधार मानेर निर्वाचन गर्न सहमत भएको कुरामा कुनै सत्यता नभएको प्रष्ट पारे ।
उनले बैशाखको पहिलो या दोस्रो साताभित्र स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले तिथिमिति सार्वजनिक गर्ने बताए । चैतमा सम्भव छैन । निर्वाचन आयोगले तयारी पुग्दैन भनिसक्यो । अब बैशाखको पहिलो या दोस्रो हप्ताभित्र निर्वाचन हुने गरी केही दिनभित्र मिति घोषणा हुन्छ उनले भने । प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई प्रतिपक्षले ठूलै प्रतिष्ठाको विषय बनाएको बताए । प्रस्ताव फेल गर्ने भए पनि कम्तीमा संसदमा प्रवेश गर्न दिउँ । तपाईंहरुसँग एक तिहाई मत पनि छ । बरु फेल गर्नुस् भनेर एमाले नेताहरुसँग आग्रह गरेको गर्यै छु प्रधानमन्त्रीले दाहालले भने, उहाँहरु (एमाले)ले अनावश्यक प्रतिष्ठाको विषय बनाउनुभो ।
प्रधानमन्त्री हिल्सा पुल उद्घाटन गरेर नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन् । प्रधानमन्त्रीसँग पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्ति बस्नेत लगायतका नेता सुर्खेत आएका छन् ।
कान्तिपुरबाट